कर्मयोगी जोन उडको माइक्रोसफ्टदेखि बाहुन डाँडासम्म पढेपछि मनमा उद्धेलित तरह तरहका भावनाहरुलाई एकमुष्ठ पार्ने प्रयास गर्दैछु। खोपिल्टे आँखाको लागि धारे नाखमा पाउरवाला चस्मा अड्याएका संग्रौला काका संधैजसो राम्रा काम कुरा गर्न खोज्छन्। यो पाली पनि, हरेक नेपालीले एकपल्ट पढ्नै पर्ने अँग्रेजी लिपिमा लेखिएको किताबलाई देवनागरीमा ढालेर जोनको मौलिकता पटक्क ननासी खुसुक्क नेपालीपना छिराउँदै हामी माझ ल्याईदिएर निकै राम्रो काम गरेका छन्। यसमानेमा अँग्रेजीमा दखल राख्न नसक्ने नेपालीहरुको धन्यवादका पात्र बन्न पुगेका छन् उनी। सबै बुद्धिवाल विवेकशील हुदैनन् तर जोन विवेक भएको बुद्धिवाल मनुखे हुन्। आफ्नो भौतिक सुख र सुविस्तामा मात्र रमाउन तैंछाड र मैछाडको होडबाजी चलेको आजको विश्वमा खाइपाइ आएको आफ्नो सम्पूर्ण तनको सुख सुविधालाई तिलान्जली दिएर लाखौंको दुःखमा हात बटाउँदै मनको सुखलाई खोजिरहेका जोन उडको कर्मलाई त नेपालीहरुमात्र होइन सारा संसारले नतमस्तक भएर प्रणाम गर्नै पर्ने हुन्छ।
उस्तो धेरै पढ्न नपाए पनि आजसम्ममा एकाध सय किताब त अबश्य पनि पढियो होला। त्यस मध्ये कतिले मस्तिष्कलाई छोए कतिले मनलाई। तर सारै थोरैले मात्र मेरो मन र मस्तिष्क दुवैलाई एकसाथ छोएका छन्। त्यस्ता किताबहरुमध्ये पछिल्लो समयका किताबहरुमा गान्धीको आत्मावृतान्त, जसले जीवनलाई चिन्ने प्रेरणासंगै अरु धेरै दिन्छ। भारतका बापुको हिजोको आदर्शलाई आज पूरै पालना गर्छु भनेर प्रयास गर्नु यो जमानामा मूर्ख्याइँ सिवाय अरु नहोला तर आवश्यक दश बाह्र प्रतिशतलाई आफ्नो विवेकमा घुसार्ने हो भने उसको जीवन अवश्य सार्थक बन्छ भन्ने लागेको छ। कर्ण शाक्यको सोच, जसले मेरो सोचहरुमा थुप्रै उथल पुथल ल्याएको छ। र आज पढेको जोन उडको किताबले जीवनलाई एउटा बाटोतिर निर्देशित गरिरहेझैं भान भइरहेको छ। जोनको किताबभित्र पस्दाको सुरुताका नढाँटी भन्ने हो भने, यो जोनलाई मेरो गाउँ र त्यहाँको विद्यालय अनि विद्यार्थीको अवस्था देखाएर सानो ठूलो सहयोग माग्न पाए कस्तो काइदा हुन्थ्यो होला भन्ने लाग्न थालिरहेको थियो। तर जोनका जीवनका पन्नाहरु किताबमा जति अगाडि पल्टन्दै गए मेरो विचारले पनि पलट खाँदै गयो। र अन्तमा म मगन्ते सोंचबाट माथि उठ्नु पर्छ भन्ने निस्कर्षमा पुगेको छु।। एउटा जोन उडले दिएर कतिलाई मात्र पुर्याओस्। जोनले नेपाललाई दिएको सहयोगको मात्रा त्यसै पनि कम छैन। अरु बोझ दिनलाई किन सोच्ने? बरु, उसले सयौं पाहिला चालेको गोरेटोमा मात्र एकै कदम चाल्ने प्रयास किन नगर्ने एउटा घुमन्तेलाई नेपालले तेत्रो छुंदो रहेछ भने हामी त त्यहाँको भोगन्ते हौं। हाम्रो धैरै पुस्ताले त्यहाँ भोगचलन गरिसक्यो भने आउँदा उतिनै पुस्ताले गर्नु छ। यसरी, यी र यस्तै मनमा खेलेका कुराहरुले मभित्रको सुसुप्त म लाई ह्वात्तै जगाइदिएको छ आज। जोनले हजारौं बालिकालाई छात्रवृति दिलाए। म एउटालाई दिएर उसलाई थोरै भरथेक गर्ने प्रयास गर्दै छु। जोनले हजारौं विद्यालयलाई लाखौं पुस्तक जुटाई दिए। म एउटा विद्यालयलाई केही सय पुस्तक जुटाउने प्रयासमा लाग्दै छु। मसंग त्यस्तो कुनै वचत भएर वा गतिलो आम्दानी भएर कसैलाई छात्रवृति दिनको लागि तम्सिएको हुइनँ। तर जहाँ इच्छा त्यहाँ उपाय। सजिलैसंग फेला पर्यो मेसो, आफूले दैनिक गर्दै आएको खर्चमा थोरै नियन्त्रण। बँचेको केही खुत्रक्क एउटा खुत्रुक्केमा। महिनामा दुई तीन सय त चुथ्थो जम्मा। बस समस्या खतम। यसको अतिरिक्त मेरो सोच, माने मैले देखेको सपना कत्रो छ, त्यसको यहाँ वर्णन गर्न थाले त्यो एउटा गफिदलेको गफ भन्दा किमार्थ बढ्ता हुने छैन। तर यी मन र मस्तिष्कलाई एकैसाथ छुने अजश्र प्रेरणाको खानीहरुलाई खोतल्दै जाँदा, तैंले पनि केही गर्ने प्रयास गर्न सक्छस् भन्ने लागेपछि केही गर्ने, गरिहाल्ने प्रयासमा भने जुटेको छु। यो प्रयास त्यस्तो केही होइन, केही हो भने यदि, मात्र लठारो बाट्नको निम्ति एक एक त्यान्द्रो पोयाको सिलोसाङलो। सहयोगको आवश्यक्ता खाली कापिकलमको लागि मात्र छैन हामीलाई। गतिलो चामकोदाली जोर्न नसक्दा, हलोको फाली फेर्न नसक्दा, स्वस्थ तथा उन्नत जातको बिउको अभावमा, कमसल ठिमाहा बिउको प्रयोगले उब्जनी घट्दा कृषकको मन कुँडिएको छ। के दुई चार जोर फरुवा र फाली अनि उन्नत बिउबिजनको जोहो गरिदिन सक्दैनौं हामी? राडीपाखी गर्ने सिपालु हातहरुका तानहरु बुइँकलको अध्यारो कुनातिर थन्किएको छ। के एक दुई धार्नी ऊन, कपासको तर्जुमा गरिदिन सक्दैनौं हामी? यी सानै प्रयासले हुने ठूला कामहरु हुन्। तर हामीमा एउटा असाध्य रोग छ। हामी जहिले ठूलो रोज्छौं जो गर्न हाम्रो सामर्थ्यले भ्याउँदैन। जुन हाम्रो सामर्थ्यले भ्याउँछ त्यो हामीलाई तुच्छ लाग्दछ, जोरीपारीले खिसी गर्ला कि भन्ने डर लाग्छ। मान्छेले कस्तोकस्तो, कत्रोकत्रो काम गर्छन्, त्यस्तो गर्न सके पो, जाबो मैले यति नाथे गरेर के लछारपाटो लाग्छ र, बेकारमा फलानाले खुबै गर्न लाग्यो भनेर खिल्ली मात्र उडाउँछ भन्ने सोच नै वास्तवमा हामीले केही गर्न नसक्नुको कारण हो। यस रोगले हामी व्यक्ति नेपालीहरुलाई मात्र होइन, हाम्रो देश नेपाललाई नै, सिंगो राज्य व्यवस्थालाई नै उहिलेदेखि गाँजिरहेको छ। मेलम्ची काठमाण्डौ भित्राउन सक्दैन नेपाल, उ विदेश गुहारीरहन्छ। तर चाहेमा आँफैले गर्न सक्ने काठमाण्डौ वरपरका ससाना जलश्रोतलाई बेवास्ता गर्छ। जसलाई मात्र व्यवस्थित गर्ने हो भने काठमाण्डौको पानीको समस्या आधा घटेर जान्छ भन्ने तथ्यांक सम्बन्धित विज्ञहरुले निकालेका छन्। अरुण, कोशी, कर्णाली आफैं बाल्ने सामर्थ्य छैन नेपालको तत्काललाई। तर गाउँ गाउँको करेसोबाट बगिरहेका सानातिना खोलानाला बाल्ने तत्परता देखाउँदैन ऊ। जो ऊ सजिलै सक्दछ। बरु यसको बदला, सौर्य शक्तिमा अनुदानको नाममा विदेशीकै पोल्टा भर्छ। यस्ता धेरै दुःखद दृष्टान्त हाम्रा अगाडि लडिरहेका छन्। यो पछौटे, नामर्दपन हामी व्यक्तिले राज्यलाई सिकायौं कि राज्यले हामीलाई सिकायो? जे भए पनि अब यतातिर नगएर सुधारको लागि राज्यलाई सिकाउन हामी अग्रसर हुनु पर्दछ। त्यस्ता धेरै राष्टू छन् जहाँका जनताको ठूलो तपस्याले, योगदानले देशले चाँडै काँचुली फेर्न सकेको छ। के हामी वीर, इमान्दार मेहनती भनेर कहलिएका नेपालीमा त्यो सामर्थ्य छैन? अवश्य छ। मात्र हामीले आफ्नो तागतमा विश्वास गर्न नसकेका हौं। यसको अलवा अर्को एउटा कारण पनि मूख्य कारण बनेर रहेको छ हाम्रो अधोगतिको। हामी विचार र व्यवहारमा पटक्कै सामन्जस्य राख्दैनौं, कुरा जति गर्छौं काम त्यसको एक छेउ पनि गर्दैनौं। यो रोग सानादेखि ठूला सबैमा सर्वब्याप्त छ। तपाईंमा, ममा हामी सबैमा। हामी ठूला नेताले बोलेर नगरेकोमा उछित्तो काढ्छौं। तर मैले बोलेर कति गर्दैछु अथवा नगरेर कति बोल्दैछु, एकपल्ट आफैंले आफैंलाई सोधेर नढाँटी उत्तर दिने हो भने परिक्षामा पास हुन हामी मध्ये धेरैलाई मुस्किल पर्छ। भने, मैले कुरो यता जोर्न खोजेको हुँ कि एउटा नेता अथवा भनौं महत्वपूर्ण जिम्मेवार लिएको व्यक्तिले बोलेर नपुर्याउँदा जति असर पर्छ, हामी साधरण जिम्मेवारी बोकेका जनसाधरणले सोही सिको गर्ने हो भने त्यो भन्दा निक्कै ठूलो असर पर्दछ। किनकि एउटा नेताको देशमा हजारैं जनता रहेका हुन्छौं। अर्को कुरा, पहिले हजार जिम्मेवार बने एउटाले धर्म छाड्न निश्चित नै सक्दैन यदि छाड्छ नै भने त्यो टिक्दैन पनि। जोन उडको कर्मबाट प्रभावित मन र मस्तिष्कबाट माथिका धेरै प्रसंगहरु गाँसिन्न आईपुगे। छोटोगरि भन्नु पर्दा मैले माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म जस्ता अनुभव र भोगाइका संगालोहरुबाट बुझेको कुरो के हो भने,मनभित्रको सोंचलाई केवल सोचमै मात्र सीमित राखे त्यो मात्र आफैंभित्र एउटा सपना बनेर सुतिरहन्छ। तर त्यसलाई व्यवहारमा उतार, त्यसले आफ्नो निश्चित उदेश्यमा पुग्ने यात्रा प्रारम्भ गर्न सक्दछ। तसर्थ आफ्नो सोंचलाई मूर्तरुप दिंदा भोलि यस्तो उस्तो, यति उति व्यवधानहरु आउला भनेर अवरोधहरु गनेर घोत्लिरहनु भन्दा सकारात्मक सोच, जस्मा जगतको भलो छ भने त्यसले जस्तो पनि अप्ठ्याराहरु पार गर्न सक्दछ भन्ने दृढ इच्छाशक्ति लिएर निस्किहाल्नु पर्दछ यात्रामा। कुरा यतिमात्र हो, आफ्नो सोचको भारी आफूले बोक्न सक्ने छ कि छैन त्यो भने अवश्य तौलनु पर्दछ यर्थाथको तुलोमा। थेग्नै नसक्ने उचाल्नु हुन्न त्यसले आफूलाई र भारीलाई पनि वितहमा पार्न सक्छ। तर थोरै गह्रौं लागे साहस गर्नु पर्छ। आज अलिक दुख्ला थाप्लो, भोलि त बानी लागि हाल्छ। त्यस्तै, सारै सानो भयो पोको, जोरीपारीको अगाडि देखाउनै सरमलाग्दो भनेर लजाउन पनि कदापि हुन्न। हामी जोन उड बन्न नसकौंला तर जोन उडले मात्र नेपालको लागि जे गरेर देखाइदिएका छन्, त्यसलाई एक सय हजार भाग लगाएर एक भाग मात्र एक जनाले गरेर जाने हो भने उसले जति गर्न एक लाख नेपाली चाहिन्छ। के तीन करोड नेपालीको देश नेपालमा एक लाख नेपाली त्यस्ता जन्मिएका छैनौँ? अवश्य छौं होला। तर माथि नै पनि एक पल्ट लेखिसकेको छु कि हामीमा सानो कुरा देख्ने र गर्ने सोचको कमी यसको लागि बाधक छ। तसर्थ, म त्यस्तो ठूलो केही गर्न सक्दिनँ भन्ने लघुताभासबाट निस्किएर, म सानै भए पनि यति गर्न सक्छु। मैले जस्तै सानो सानो सबैले गरे त्यो भोलि ठूलो हुन्छ भन्ने सोच राखे कसो होला? गजप हुने छ। एक एक वटा इँटा अग्लाएर धरहरा बनेको छ। एक जनाले जीवन भरमा एक मीटर बाटो खने, तीन करोड नेपालीले खन्दा कति होला ? सम्भवतः नेपाललाई तीन फन्का पुग्ने जति होला। उसो भए आफ्नो भागमा पर्ने जति खन्न किन आजैबाट सुरु नगर्ने त?
Thursday, 1 May 2008
Sunday, 27 April 2008
Subscribe to:
Posts (Atom)